बागलुङ — अविरल वर्षापछि बागलुङका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी पछिल्लो तीन दिनमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५, सिपमा पहिरोले घर पुरिँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी ७९ वर्षीया सासु नरमाया रोका छन्।
पहिरोमा परेर पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्।
यसअघि ताराखोलामै एक जनाको मृत्यु भएको थियो। तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् भने निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा पहिरो र बाढीको जोखिम बढेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पछिल्लो विवरण: मृत्यु १२ जना, बेपत्ता १ जना।