काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले मध्यराति निवासबाट नियन्त्रणमा लिएको घटनाबारे जेनजी अभियन्ता अजय सोडारीले प्रधानमन्त्री बालेन्द्र शाहसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्
जबरालाई महाराजगञ्जस्थित निवासबाट शनिबार राति प्रहरीले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा करिब १२ घण्टा राखिएको थियो
प्रहरीले भने जबरालाई सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा ल्याइएको जनाएको छ तर सुरक्षा चुनौतीको स्रोत र त्यसको आधारबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन
सोडारीले विज्ञप्तिमार्फत जबरामाथि जेनजी समूह, व्यक्ति वा कुनै अभियानबाट सुरक्षा थ्रेट आएको भए त्यसमा संलग्न व्यक्ति वा समूह तथा त्यसको आधिकारिक प्रमाण सार्वजनिक गर्न माग गरेका छन्
उनले धम्की वा सुरक्षा चुनौती सिर्जना गरेको प्रमाणित भए कानुनबमोजिम कारबाही हुनुपर्ने बताएका छन्
साथै प्रमाणबिना जेनजी पुस्ता वा जेनजी आन्दोलनलाई आपराधिक गतिविधिसँग जोडेर बदनाम गर्ने प्रयास स्वीकार्य नहुने सोडारीको भनाइ छ
जबरालाई नियन्त्रणमा लिने क्रममा प्रधानमन्त्री तथा प्रधानमन्त्रीको सचिवालयबाट प्रत्यक्ष निर्देशन भएको भन्ने समाचार सार्वजनिक भएको भन्दै सोडारीले त्यसको सत्यता स्पष्ट गर्न पनि माग गरेका छन्
उनले जबरालाई नियन्त्रणमा लिनुपर्ने अवस्था, त्यसको कानुनी आधार तथा सरकारको भूमिकाबारे प्रधानमन्त्रीले तत्काल सार्वजनिक धारणा दिनुपर्ने बताएका छन्
सोडारीले राज्यका सुरक्षा संयन्त्रको प्रयोग कानुन, प्रमाण र विधिको शासनअनुसार हुनुपर्ने उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्
यस विषयमा सरकार तथा सम्बन्धित निकायबाट थप औपचारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ