कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृत्यु

विश्व
Image
Image
Image
Image
Image

कोलकाता — भारतको पश्चिम बंगालस्थित कोलकाताको मिर्जा गालिब स्ट्रिटमा बुधबार बिहान एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक बालकसमेत रहेको प्रहरीले जनाएको छ। घटनामा अन्य ६ जना घाइते भएका छन्।

आगलागी बिहान करिब २ बजे पाँचतले भवनमा लागेको थियो। आगोपछि भवनभित्र बाक्लो धुवाँ भरिँदा माथिल्ला तलामा रहेका मानिसहरू फसेका थिए। उद्धारका क्रममा दमकलकर्मीलाई बाक्लो धुवाँका कारण माथिल्लो तलासम्म पुग्न कठिन भएको बताइएको छ।

आगो नियन्त्रणमा लिन पाँच दमकल परिचालन गरिएको थियो। प्रहरी र विपद् व्यवस्थापन टोलीले संयुक्त रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गरेका छन्। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।

आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ। केही प्रारम्भिक रिपोर्टमा विद्युतीय समस्या वा एसीसम्बन्धी खराबीको आशंका गरिए पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन।

घटनापछि कोलकाताका होटल तथा आवासीय भवनहरूको अग्नि सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठेको छ। (Indian Express – Bangla)