बङ्गालको खाडीमा मालवाहक जहाज डुब्यो, २४ जनाको चालकदलमध्ये २ जनाको उद्धार

विश्व

भारतको ओडिशा तटबाट करिब २४० नटिकल माइल टाढा बङ्गालको खाडीमा २४ जना चालकदल सवार पानामाको झण्डा बोकेको मालवाहक जहाज डुबेको भारतीय अधिकारीहरूले बताएका छन्।

एमभी ओसन विनर नामको उक्त जहाज ओडिशाको पारादीप बन्दरगाहबाट सिंगापुरतर्फ जाँदै थियो। जहाजमा करिब ७२ हजार १०० मेट्रिक टन फलामको अयस्क लोड गरिएको थियो।

जहाजमा रहेका २४ जनामध्ये २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक रहेको बताइएको छ।

भारतीय कोस्ट गार्डका अनुसार जहाजसँग सम्पर्क विच्छेद भएपछि खोजी तथा उद्धार अभियान सुरु गरिएको थियो। हालसम्म दुई जनालाई लाइफ राफ्टबाट उद्धार गरिएको छ भने बाँकी २२ जनाको खोजी भइरहेको छ।