स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने करिब ५० मिटर लामो पक्की पुल कालीगण्डकी नदीमा आएको बाढीले पूर्ण रूपमा बगाएको छ।
चार दिनदेखि परेको अविरल वर्षापछि नदीमा आएको बाढीले पुलमा क्षति पुर्याउँदै आइतबार बिहान करिब ६ बजे पुल नै बगाएको हो। पुल बगेसँगै स्याङ्जा–गुल्मीबीचको आवतजावत तथा यातायात सेवा प्रभावित भएको छ।
यो पुल कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा २०५३ सालमा निर्माण गरिएको थियो। पछिल्लो समय मर्मत अभावका कारण पुल जीर्ण बनेको बताइएको छ। पुल बगाएपछि स्याङ्जाबाट गुल्मी तथा गुल्मी हुँदै बुटवलतर्फ जाने पहुँचसमेत प्रभावित भएको छ।