काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि उठेका आरोपबारे आन्तरिक छानबिन सुरु गरेको छ। छानबिन पूरा नहुँदासम्म उनलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सुनारसँग सम्बन्धित सार्वजनिक अडियो र सञ्चारमाध्यममा आएका गम्भीर आरोपप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन्।
पार्टीका अनुसार सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादामाथि आँच पुर्याएको, अनुचित दबाब दिएको, धम्की दिएको तथा शंकास्पद आर्थिक लेनदेन गरेको जस्ता विषय उठेका छन्। यी आरोपको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई छानबिन अघि बढाउन निर्देशन दिइएको छ।
रास्वपाले राज्यका सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान हुने विश्वास व्यक्त गर्दै सरकारी अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन र पार्टी विधानअनुसार थप कदम चालिने पनि विज्ञप्तिमा उल्लेख छ।
पार्टीले ‘कानुनभन्दा माथि कोही हुँदैन’ भन्ने मान्यतामा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। सांसद सुनारमाथि उठेका आरोप भने छानबिनबाट पुष्टि हुन बाँकी छन्।