इरानसँगको तनावमा कूटनीतिक पहल बढ्दै, ट्रम्पले भने–सकारात्मक वार्ता भइरहेको छ

विश्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग जारी तनाव समाधानका लागि कूटनीतिक प्रयास सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन्। दुवै पक्षले लगातार तेस्रो दिनसम्म एकअर्कामाथि कुनै नयाँ आक्रमण नगरेको पृष्ठभूमिमा ट्रम्पको यो प्रतिक्रिया आएको हो।

सोमबार एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मलाई लाग्छ, केही सकारात्मक परिणाम निस्कने राम्रो सम्भावना छ।”

यद्यपि उनले वार्ता सफल नभए अमेरिकाले आवश्यक परे पुनः सैन्य विकल्प अपनाउन सक्ने चेतावनी पनि दिए।

तर, इरानले भने अमेरिका र तेहरानबीच कुनै प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ।

ट्रम्पका अनुसार, शुक्रबार अमेरिकाले इरानमाथि गर्ने तय भएको हवाई आक्रमण स्थगित गरेको थियो। उनले दुवै पक्षबीच मध्यस्थता गरिरहेका देशहरूले वार्तालाई थप अवसर दिन आग्रह गरेपछि उक्त निर्णय गरिएको बताएका छन्। इरानले पनि आफ्ना सैन्य आक्रमणहरू रोकिएको जनाएको छ।

करिब दुई सातासम्म चलेको अमेरिकी हवाई आक्रमण र त्यसको जवाफमा इरानले गरेका प्रतिआक्रमणपछि अहिले युद्धविरामजस्तै अवस्था देखिएको हो। यसअघि भएको युद्धविराम पछिल्ला सैन्य गतिविधिका कारण प्रभावहीन बनेको थियो।

अमेरिकी सेनाका अनुसार, इरानमाथिका हवाई कारबाहीको मुख्य उद्देश्य हर्मुज जलडमरूमध्य (Strait of Hormuz) हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल ढुवानी मार्गको सुरक्षामा उत्पन्न हुन सक्ने जोखिमलाई नियन्त्रण गर्नु थियो। विश्वव्यापी ऊर्जा आपूर्तिका लागि यो जलमार्ग अत्यन्तै महत्वपूर्ण मानिन्छ।

हाल दुवै पक्षबाट आक्रमण रोकिएको अवस्थामा कूटनीतिक प्रयासले गति लिएको देखिए पनि वार्ताको अन्तिम नतिजा भने अझै अनिश्चित रहेको छ।