अमेरिकी नाकाबन्दी जारी रहे युद्धपोतलाई निशाना बनाउने इरानको चेतावनी

विश्व

अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी कायम राखे अमेरिकी युद्धपोतहरूलाई निशाना बनाइने चेतावनी इरानले दिएको छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका सैन्य सल्लाहकार मोहसेन रेजाइले इरानी सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा इरानले आफ्नो जलक्षेत्रमाथिको दबाब र समुद्री मार्गमा हुने अवरोध स्वीकार नगर्ने बताएका हुन्।

रेजाइले अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफूले “गैरकानुनी” ठानेको सैन्य गतिविधि बढाए त्यसको प्रतिकार गरिने चेतावनी दिए। उनले भने, “यदि अमेरिकाले होर्मुज क्षेत्रमा अवैध रूपमा युद्धपोत परिचालन गर्छ भने इरानी सेनाले तिनलाई निशाना बनाउनेछ।”

अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौता विफल भएपछि अमेरिकाले गत महिना इरानमाथिको नौसैनिक नाकाबन्दी पुनः लागू गरेको थियो।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार नाकाबन्दी लागू भएपछि ४४ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गरिएको, दुई वटा जहाजलाई निष्क्रिय बनाइएको तथा अन्य दुई जहाजमा चढेर निरीक्षण गरिएको छ।

रेजाइले स्ट्रेट अफ होर्मुज हुँदै हुने समुद्री व्यापारमा इरानको सुरक्षा र नियन्त्रणको अधिकार कायम रहने बताए। उनले इरानको स्वीकृतिविना कुनै पनि वैकल्पिक मार्गबाट जहाज सञ्चालन गर्न नदिइने पनि स्पष्ट पारे।

साथै, उनले अमेरिका दुई देशबीच भएको समझदारीको उल्लंघन गर्दै विवाद समाधान संयन्त्र प्रयोग नगरी पुनः सैन्य कारबाहीमा उत्रिएको आरोप लगाए।

अमेरिकाले भने इरानमाथि लगाइएको नाकाबन्दी क्षेत्रीय सुरक्षा तथा अन्तर्राष्ट्रिय जलमार्गको संरक्षणका लागि आवश्यक रहेको बताउँदै आएको छ।