सिरहाको इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल मधेश प्रदेश प्रहरी कार्यालयद्वारा २०८३ साल असार महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन्। उत्कृष्ट कार्यसम्पादन, अनुशासित सेवा, प्रभावकारी अपराध नियन्त्रण तथा जनमुखी प्रहरी सेवामा पुर्याएको योगदानको मूल्याङ्कनका आधारमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रहरी निरीक्षक मल्ललाई सम्मानपत्रसहित उत्कृष्ट प्रहरीको प्रमाणपत्र प्रदान गरिएको थियो। प्रदेश प्रहरी कार्यालयका अनुसार उनी नेतृत्वमा रहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारले शान्ति–सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तथा समुदायसँग समन्वय बढाउन उल्लेखनीय भूमिका खेलेको छ।
प्रहरी संगठनले प्रत्येक महिना कार्यसम्पादन, अनुशासन, जिम्मेवारी निर्वाह, अनुसन्धान क्षमता तथा नागरिकमैत्री सेवाको मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रहरी छनोट गर्ने व्यवस्था गरेको छ। प्रहरी निरीक्षक विशाल मल्लको यो सम्मानले प्रहरी सेवामा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।