काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। बाढीबाट प्रभावित विदुर तथा आसपासका बस्तीको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि सहभागी छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग उद्धार, राहत, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन्।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि सरकारले उद्धार तथा राहतलाई तीव्र बनाएको छ। प्रधानमन्त्री शाहले यसअघि उच्चस्तरीय बैठकमार्फत उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए।
विदुर भ्रमणका क्रममा प्रभावित क्षेत्रमा राहत छिटो पुर्याउने तथा क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधार पुनः सञ्चालन र पुनर्निर्माणलाई तीव्रता दिने विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।