भोटेकोशी र त्रिशूलीको बहाव घट्यो, तर जोखिम कायमै

समाचार

काठमाडौं । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा पानीको बहाव क्रमशः घट्दै गएको छ। पछिल्लो अवस्थाअनुसार केही स्थानमा नदीको बहाव सतर्कता तहभन्दा तल झरे पनि जोखिम पूर्ण रूपमा टरेको छैन।

बाढी पूर्वानुमान महाशाखाले नदी प्रणालीमा निरन्तर निगरानी आवश्यक रहेको भन्दै तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

बुधबार तिब्बततर्फबाट अचानक ठूलो पानी भोटेकोशीमा प्रवेश गरेपछि बाढी तीव्र गतिमा त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा पुगेको थियो। बाढीले विभिन्न जलमापन केन्द्र तथा पुललगायतका संरचनामा समेत क्षति पुर्‍याएको थियो।

प्राविधिक प्रतिवेदनअनुसार बाढीको मुख्य बहाव देवघाटसम्म पुगेको थियो भने प्रारम्भिक आकलनमा देवघाट क्षेत्रमा करिब २ करोड घनमिटर थप पानी आएको देखिएको छ।

महाशाखाले माथिल्लो भोटेकोशी क्षेत्रमा नदीको अवस्था अझै सामान्य नभएकाले नदी किनार, तटीय बस्ती तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान आग्रह गरेको छ।

सावधानी अपनाऔँ, सुरक्षित रहौँ।