फ्लाईदुबईका सह-पाइलटले बञ्चरोले कप्तानमाथि आक्रमण गरेको यूएईको खुलासा

विश्व

दुबईबाट इजरायलतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा सह-पाइलटले बञ्चरो (क्र्यास एक्स) प्रयोग गरी कप्तानमाथि आक्रमण गरेको संयुक्त अरब इमिरेट्स (यूएई) का सरकारी अधिकारीले बताएका छन्।

यूएईका महान्यायाधिवक्ताका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। दुबईबाट तेल अभिभतर्फ १७० भन्दा बढी यात्रु बोकेर उडेको विमानमा उडान सुरु भएको करिब साढे दुई घण्टापछि सह-पाइलटले कप्तानमाथि आक्रमण गरेका थिए।

आक्रमणपछि विमान करिब १७ हजार फिट (५ हजार २०० मिटर) तल झरेको थियो। त्यसपछि विमानमा रहेका यात्रुहरूले आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिन सफल भएका थिए।

आक्रमणमा घाइते भएका कप्तान स्मित मच्छर भुइँमा लडिरहेका थिए। विमान तल झरिरहेको थाहा पाएपछि उनले अन्तिम प्रयास गर्दै ककपिटको ढोका भित्रबाट खोल्न सफल भएको बताएका छन्। त्यसपछि यात्रुहरू ककपिटभित्र प्रवेश गर्न पाएका थिए।

विमानमा रहेका दुई जना वैकल्पिक पाइलटले नियन्त्रण सम्हाल्दै साउदी अरबमा सुरक्षित अवतरण गराएका थिए। घटनामा कप्तान मच्छरले देखाएको साहसको भारत सरकारले प्रशंसा गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका अनुसार आक्रमण गर्ने सह-पाइलट ओमानी नागरिक हुन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको नाम हमाम अल-हमामी रहेको उल्लेख गरे पनि यसको आधिकारिक पुष्टि भएको छैन।

अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी यसअघि ओमान एयरमा कार्यरत रहँदा कट्टरपन्थी विचारधारासम्बन्धी चिन्ताका कारण पाइलट तालिमबाट हटाइएका थिए। त्यसपछि उनलाई ओमानको राष्ट्रिय वायुसेवा कम्पनीमा अर्को जिम्मेवारी दिइएको थियो।

उनले बेलायतको बकिङ्घमशायर न्युनीभर्सिटीबाट दूरशिक्षामार्फत तीनवर्षे अध्ययन पूरा गरी सन् २०२३ मा उड्डयन व्यवस्थापनमा स्नातक उपाधि हासिल गरेका थिए। विश्वविद्यालयले भने उनले त्यहाँ पाइलटसम्बन्धी कुनै तालिम नलिएको स्पष्ट पारेको छ।

घटनामा प्रयोग गरिएको हतियार बञ्चरो (क्र्यास एक्स) रहेको यूएईका महान्यायाधिवक्ताले पुष्टि गरेका छन्। विमानको ककपिटमा आपत्कालीन अवस्थाका लागि यस्तो उपकरण राख्ने गरिन्छ। घटनाको कारण र आक्रमणकारीको उद्देश्यबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।