नेकपा (एमाले) ले सुनसरीमा पछिल्ला दुई दिनदेखि तनावपूर्ण बनेको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकारले विवाद व्यवस्थापनमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ।
पार्टीका महासचिव शंकर पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भए पनि संवेदनशील विषयमा सरकार गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको उल्लेख गरिएको छ।
एमालेले विवाद समाधानका लागि समयमै संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग, शक्ति प्रदर्शन तथा त्रासको वातावरण सिर्जना गरिएको दाबी गरेको छ। त्यस्ता गतिविधिले परिस्थितिलाई थप जटिल र उत्तेजित बनाएको पार्टीको भनाइ छ।
विज्ञप्तिमा घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
एमालेले घटनाको निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न पनि आग्रह गरेको छ। साथै, राज्यले संयमता अपनाउँदै समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्नुपर्ने पार्टीको धारणा छ।
विज्ञप्तिमा देवानगञ्ज तथा समग्र सुनसरीका बासिन्दालाई कुनै पनि अफवाहमा विश्वास नगर्न र धार्मिक, सामाजिक तथा जातीय सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई कायम राख्न अपिल गरिएको छ।