काठमाडौं । अमेरिकी कम्पनी स्पेसएक्सको प्रयोग भइसकेको रकेटको दोस्रो चरण (अपर स्टेज) चन्द्रमामा ठोक्किएको अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार उक्त रकेटको भाग ध्वनिको गतिभन्दा करिब सात गुणा बढी वेगमा चन्द्रमाको सतहमा ठोक्किएको हो।
यो रकेटको भाग सन् २०२५ जनवरी १५ मा दुई निजी चन्द्र मिसनका ल्यान्डर प्रक्षेपण गर्न प्रयोग गरिएको थियो। त्यसपछि करिब ४० फिट लामो उक्त संरचना अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको थियो।
अन्तरिक्ष ट्र्याकिङ विज्ञ बिल ग्रेका अनुसार रकेटको भाग करिब ५,४०० माइल प्रतिघण्टा (झन्डै ८,७०० किलोमिटर प्रतिघण्टा) को गतिमा चन्द्रमामा ठोक्किएको अनुमान छ। यो गति ध्वनिको गतिभन्दा करिब सात गुणा बढी हो।
वैज्ञानिकहरूले यसबाट चन्द्रमाको सतहमा करिब तीन टन टीएनटी विस्फोट बराबरको प्रभाव पर्ने अपेक्षा गरेका छन्। यद्यपि, चन्द्रमामा वायुमण्डल नभएकाले पृथ्वीमा जस्तो आगो वा धुवाँ देखिने सम्भावना हुँदैन। यसको सट्टा चन्द्रमाको सतहमा नयाँ खाडल (क्रेटर) बन्न सक्ने अनुमान गरिएको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासासहितका वैज्ञानिक टोलीहरूले उक्त प्रभावको अध्ययन गर्ने तयारी गरेका छन्। यद्यपि, ठोक्किएको स्थान र त्यसबाट बनेको खाडलको पुष्टि हुन केही दिन लाग्न सक्ने बताइएको छ।
स्पेसएक्सको यो रकेटको भाग आफ्नो काम पूरा गरेपछि अन्तरिक्षमै छाडिएको थियो। पछिल्ला महिनाहरूमा यसको कक्षा परिवर्तन हुँदै जाँदा अन्ततः चन्द्रमाको गुरुत्वाकर्षणले तानेर सतहमा ठोक्किएको वैज्ञानिकहरूको अनुमान छ।