हरितालिका तीज : पशुपतिनाथमा बिहानैदेखि व्रतालु महिलाको घुइँचो, चारै ढोका खुला

समाचार

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने व्रतालु महिलाको बिहानैदेखि ठूलो भीड लागेको छ।

व्रत बसेका महिलालाई सहज रूपमा दर्शन गराउने उद्देश्यले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजका दिन पशुपति क्षेत्रमा ठूलो संख्यामा महिला भक्तजन आउने भएकाले दर्शन व्यवस्थापन, भीड नियन्त्रण र सुरक्षाका लागि विशेष तयारी गरिएको थियो।

भक्तजनको सहजताका लागि विभिन्न स्थानबाट आउने दर्शनार्थीलाई छुट्टाछुट्टै मार्ग हुँदै मन्दिर प्रवेश र दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

मित्रपार्क–उमाकुण्डतर्फबाट आउने भक्तजनका लागि उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश–बद्रीनरसिंह भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गरी उत्तरतर्फको र्‍याम्पबाट दर्शन गर्ने व्यवस्था गरिएको छ। दर्शनपछि पश्चिम ढोकाबाट बाहिरिने प्रबन्ध छ।

त्यस्तै जयवागेश्वरीतर्फबाट आउने भक्तजनका लागि दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार हुँदै आकासे पुलमार्फत भुवनेश्वरी, नासलचोक र शङ्कराचार्य मठतर्फबाट मन्दिरको पश्चिम भागमा पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

सिनामङ्गल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फबाट आउने भक्तजनका लागि तिलगङ्गा क्षेत्रबाट राम मन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पुग्ने र पूर्वढोकाबाट दर्शन गर्ने व्यवस्था गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष तीजलाई सुरक्षित, व्यवस्थित र भक्तिमय बनाउन सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थासँग समन्वय गरी तयारी गरिएको थियो। कोषले भीड व्यवस्थापन, सरसफाइ, स्वयंसेवक परिचालन र दर्शन व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरेको जनाएको छ।

पशुपतिनाथमा तीजका अवसरमा नेपालका विभिन्न स्थानबाट मात्र नभई विदेशमा रहेका नेपालीसमेत दर्शनका लागि आउने गर्छन्। नेपाल पर्यटन बोर्डका अनुसार तीज पशुपतिनाथमा ठूलो संख्यामा महिला श्रद्धालु जम्मा हुने प्रमुख धार्मिक अवसरमध्ये एक हो।