काठमाडौं । नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने २८४ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाले सुरुङमार्गमा तीव्र गति, लेन अनुशासन उल्लङ्घन, ओभरटेकलगायतका ट्राफिक नियम विपरीत सवारी चलाउने चालकलाई कारबाही गरेको हो।
सुरुङमार्ग संवेदनशील क्षेत्र भएकाले नियमविपरीत सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै जनधनको क्षति र आकस्मिक उद्धारमा समेत कठिनाइ हुन सक्ने प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा लेन अनुशासन कायम राख्न, तोकिएको गति सीमाभित्र सवारी चलाउन तथा सबै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकहरूलाई आग्रह गरेको छ।
पटक–पटक लेन अनुशासन, तीव्र गति लगायतका नियम उल्लङ्घन गरेको पाइएमा सम्बन्धित सवारी साधन तथा चालकलाई आगामी दिनमा सुरुङमार्ग प्रवेशमा समेत निषेध गर्न सकिने प्रहरीले जनाएको छ।