इजरायलमा १,४६४ नेपालीका लागि रोजगारी खुल्यो, २५–४५ वर्षकाले आवेदन दिन सक्ने

प्रवास

काठमाडौं — इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न इच्छुक नेपालीका लागि रोजगारीको अवसर खुलेको छ। वैदेशिक रोजगार विभागले गम्भीर अपांगता भएका व्यक्तिको स्याहार( Caregiver ) का लागि १ हजार ४६४ जना नेपाली सहायक कामदार छनोट गर्न आवेदन आह्वान गरेको हो।

विभागका अनुसार माग भएका कामदारमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्। आवेदन दिन इच्छुक नेपाली नागरिकले २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

आवेदन भदौ २३ गतेदेखि असोज २६ गते राति ११:५९ बजेसम्म अनलाइनमार्फत दिन सकिनेछ। आवेदन वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली forms.dofe.gov.np मार्फत दर्ता गर्नुपर्नेछ।

मासिक तलब ६,४४३.८५ इजरायली शेकेल
छनोट भएका नेपाली कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली शेकेल (NIS) तलब पाउनेछन्। इजरायली कानुनअनुसार अतिरिक्त काम गरेमा ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागको सूचनामा उल्लेख छ।

कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ भने सातामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा इजरायलको प्रचलित कानुनअनुसार हुनेछ।

बस्ने व्यवस्था कम्पनीको, खर्च कामदारको
कामदारका लागि खाना कम्पनीले उपलब्ध नगराउने भए पनि बसोबासको व्यवस्था कम्पनीले गर्ने बताइएको छ। तर, आवाससम्बन्धी खर्च भने कामदार आफैंले व्यहोर्नुपर्नेछ।

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउने प्रक्रिया नेपाल–इजरायलबीच भएको श्रम सम्झौताअनुसार सञ्चालन गर्दै आएको छ। विभागको वेबसाइटमा इजरायल रोजगारीसम्बन्धी पछिल्ला सूचना, अनुसूची तथा कार्य विवरणसमेत उपलब्ध छन्।

आवेदन दिनुअघि उम्मेदवारले वैदेशिक रोजगार विभागको आधिकारिक सूचना र तोकिएका योग्यता तथा कागजात ध्यानपूर्वक जाँच गर्नुपर्नेछ।

स्रोत: वैदेशिक रोजगार विभाग