नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा चिलिमे जलविद्युत केन्द्रका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्य आशाजनक चरणमा पुगेको बताएका छन्।
उद्धार कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहेका घिसिङले सामाजिक सञ्जालमार्फत मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। उनका अनुसार उद्धार टोली सुरुङभित्र निरन्तर अगाडि बढिरहेको छ र विद्युतगृह पुग्न अब करिब १०० मिटर दूरी मात्र बाँकी छ।
घिसिङका अनुसार सुरुङको साँघुरो भागबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा प्रतिध्वनि सुनिएको छ भने त्यहाँबाट चिसो हावा पनि आइरहेको छ। यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल हुन सक्ने आशालाई थप बल दिएको उनले बताएका छन्।
स्याफ्रुवेसीतर्फबाट स्काभेटर र लोडर सुरुङसम्म पुर्याउने काम पनि तीव्र रूपमा अघि बढिरहेको र ती उपकरण पुगेपछि उद्धार कार्य अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
घिसिङले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारीहरूको अथक प्रयासको प्रशंसा गर्दै सुरुङभित्र रहेका सबै व्यक्तिको सकुशल उद्धार होस् भन्ने कामना व्यक्त गरेका छन्।