नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ बाट

खेलकुद

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने नवौं महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आगामी पुस ११ गतेदेखि सुरु हुने भएको छ।

प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ८ टोलीले सहभागिता जनाउनेछन्। यसपटक भने गण्डकी प्रदेश च्याम्पियनसिपमा सहभागी नहुने संघले जानकारी दिएको छ।

च्याम्पियनसिपको प्रदर्शनका आधारमा पुरुषतर्फ उत्कृष्ट ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुनेछन्। महिलातर्फ नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब गरी तीन विभागीय टोली सहभागी रहनेछन्।

त्यसैगरी महिलातर्फ न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, कर्णालीको चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्ले पनि प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फ विभागीय टोलीहरूसँगै मणिमुकुण्ड भलिबल क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, कोशी प्रदेश भलिबल संघ, खिल्जी युवा क्लब, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब तथा कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र सहभागी हुनेछन्।

संघका अनुसार विभागीय टोलीबाहेकका क्लबहरूले अधिकतम तीन जना विदेशी खेलाडी समावेश गर्न पाउनेछन्। प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजना हुनेछ।