जापानीज इन्सेफलाइटिसबाट झापाकी प्रमिला राजवंशीको निधन
झापाको हल्दीबारी गाउँपालिका–२ कदमचोक निवासी प्रमिला कुमारी राजवंशीको जापानीज इन्सेफलाइटिस सङ्क्रमणका कारण उपचारकै क्रममा निधन भएको छ।
प्रादेशिक अस्पताल भद्रपुरको सघन उपचार कक्ष (ICU) मा उपचाररत राजवंशीको चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद ज्यान बचाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ। क्युलेक्स (सेतो) प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने जापानीज इन्सेफलाइटिस पुष्टि भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो।
हल्दीबारी उद्योग वाणिज्य सङ्घका महासचिव कृष्ण प्रसाईंका अनुसार उपचारका क्रममा उनको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएको थियो।
राजवंशी नेपाली कांग्रेसकी सक्रिय कार्यकर्ता तथा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहनकुमार राजवंशीकी श्रीमती हुन्। उनी सामाजिक क्षेत्रमा समेत सक्रिय रूपमा योगदान पुर्याउँदै आएकी थिइन्।