रौतहटबाट भारतको झारखण्डस्थित धार्मिक स्थलको दर्शन गरेर फर्किँदै गरेको नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार झारखण्डको कोडरमा जिल्लास्थित पोखरडीहा मोडनजिकै बस र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको बताइएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये १० वर्षीय शिवम कुमारको पहिचान खुलेको छ। मृत्यु भएका अन्य दुई जनाको भने हालसम्म सनाखत हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ।
दुर्घटनामा १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनापछि स्थानीय प्रशासन र प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ।
तीर्थयात्रीहरू बाबा वैद्यनाथ धाम र बासुकीनाथको दर्शन तथा पूजाआजा सकेर रौतहट फर्किँदै थिए।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।