पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा सारियो

समाचार

काठमाडौं — बुधबार पक्राउ परेका पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार परिसरमा थुनुवाको चाप बढेकाले अनुसन्धान तथा मुद्दा अभियोजनको प्रक्रियालाई सहज बनाउन श्रेष्ठलाई बिहीबार साँझ महाराजगञ्ज सारिएको हो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठसँग भेटघाट गर्न चाहने व्यक्तिमाथि निगरानी तथा नियन्त्रण गरिएको छ। परिवारले उपलब्ध गराएका अत्यावश्यक स्वास्थ्य सामग्री भने उनलाई प्रयोग गर्न दिइएको प्रहरीले जनाएको छ।

श्रेष्ठविरुद्ध प्रकाशित समाचार तथा सामग्रीबाहेक अन्य विषयमा समेत अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। अनुसन्धानका क्रममा उनका विभिन्न इलेक्ट्रोनिक उपकरण नियन्त्रणमा लिएर परीक्षण भइरहेको छ। ती उपकरणको प्राविधिक परीक्षण सामाखुसीस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा भइरहेको स्रोतको भनाइ छ।

प्रहरीले श्रेष्ठसँग सम्बन्धित विभिन्न बैंक तथा वित्तीय संस्थाका कारोबारसमेत अध्ययन गरिरहेको जनाएको छ। अनुसन्धानको दायरा फराकिलो बनाउँदै इलेक्ट्रोनिक उपकरण, वित्तीय कारोबार र अन्य सम्बन्धित विवरणको परीक्षण भइरहेको स्रोतले बताएको छ।

श्रेष्ठलाई कुन विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। प्रहरीले अनुसन्धान पूरा भएपछि मात्र थप विवरण स्पष्ट हुने जनाएको छ।