काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले डीडीसीका उत्पादनको सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि चर्चामा आएको दुग्ध विकास संस्थान (डीडीसी) अब नेपाली दुग्धजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने अभियानमा अघि बढेको छ।
पछिल्लो समय डीडीसीको घिउ दुबईसहित खाडी मुलुकमा पुर्याउने प्रक्रिया अघि बढेको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले डीडीसीले खाडी मुलुक र चीनमा समेत घिउ निर्यात गर्ने तयारी गरिरहेको जानकारी दिएकी छन्।
यसअघि डीडीसीको घिउ मुख्य रूपमा जापानलगायत बजारमा निर्यात हुँदै आएको थियो। २०७७/७८ देखि डीडीसीको घिउ जापान निर्यात सुरु भएको थियो भने पछिल्ला वर्षहरूमा अस्ट्रेलिया, भारत र अमेरिकातर्फ समेत नेपाली घिउ निर्यात भएको तथ्यांक छ।
प्रधानमन्त्री बालेनले डीडीसीको चीज खाँदै गरेको तस्वीरसहित सामाजिक सञ्जालमा प्रचार गरेपछि डीडीसीका उत्पादनप्रति उपभोक्ताको चासो उल्लेख्य रूपमा बढेको थियो। त्यसपछि डीडीसीका उत्पादनको बजार विस्तार र अन्तर्राष्ट्रिय निर्यातबारे पनि चर्चा बढेको हो।
डीडीसीका अनुसार संस्थाले दूध, घिउ, बटर, पनिर, याक चिजलगायत विभिन्न दुग्धजन्य उत्पादन गर्दै आएको छ। संस्थाको पछिल्लो उत्पादन विवरणअनुसार २०८१/८२ मा मात्रै डीडीसीले करिब २ लाख १९ हजार लिटर घिउ उत्पादन गरेको थियो।
अब डीडीसीको लक्ष्य नेपाली दुग्धजन्य उत्पादनलाई खाडी, चीन तथा अन्य अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने रहेको छ। यसले नेपाली किसानको दूधको बजार विस्तार गर्नुका साथै स्वदेशी उत्पादनलाई विश्व बजारमा चिनाउने अवसरसमेत सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।
बालेनको एउटा सामाजिक सञ्जाल पोस्टबाट सुरु भएको डीडीसीको चर्चा अब ‘नेपाली उत्पादन विश्व बजारमा’ पुर्याउने अभियानतर्फ अघि बढेको छ।