युक्रेन–रुस युद्धका बीच एक युक्रेनी सैनिकको सङ्घर्ष र साहसको कथा सार्वजनिक भएको छ। युक्रेनको ३०औँ मेकनाइज्ड ब्रिगेडका सैनिक कोस्तियान्तिन भ्लासेन्कोले अग्रपङ्क्तिमा लगातार ४९१ दिन बिताएको विवरण सार्वजनिक भएको हो।
सैन्य पत्रकार युरी बुटुसोभसँगको अन्तर्वार्तामा उनले आफूले युद्धभूमिमा कठिन परिस्थितिको सामना गरेको बताएका छन्। उनका एक सहकर्मीको मृत्यु भएको थियो भने उनी आफैँ गम्भीर घाइते भएका थिए र दुवै खुट्टा गुमाएका थिए।
करिब १० महिनासम्म उनी दुई जनाका लागि बनाइएको कङ्क्रिटको निकास पाइपभित्र आश्रय लिएर बसेका थिए। रुसी ड्रोनको निगरानी र आक्रमणको जोखिम बढ्दै जाँदा उनलाई खाना तथा अन्य आवश्यक सामग्री पुर्याउन र त्यहाँबाट निकाल्न झन् कठिन भएको थियो।
आफूलाई उद्धार गर्न जाँदा अन्य सैनिकको ज्यान जोखिममा नपरोस् भन्ने चाहना उनले व्यक्त गरेका थिए। गम्भीर घाइते हुँदासमेत उनले कमान्डसँग सम्पर्क कायम राखेका थिए। उनको भनाइअनुसार, एउटा घाइते खुट्टा आफैँ काट्नुपर्ने अवस्थासमेत आएको थियो।
अन्ततः युक्रेनी सैनिकहरूले सामान ओसार्न वा आक्रमणमा प्रयोग गरिने भारी छवटा पङ्खा भएको ड्रोनलाई घाइते सैनिकको उद्धारका लागि प्रयोग गरे। गुरजुफ डिफेन्सले बनाएको उक्त ड्रोनमार्फत ३०औँ मेकनाइज्ड ब्रिगेड र ९२औँ असल्ट ब्रिगेडसहित विभिन्न सैन्य टोलीको सहयोगमा उनको उद्धार गरिएको विवरणमा उल्लेख छ।
उद्धारपछि भ्लासेन्को जीवितै रहेका छन् र उपचार तथा स्वास्थ्यलाभ गरिरहेका छन्।
यो घटनाले युद्धमा आधुनिक प्रविधिको प्रयोगसँगै कठिन परिस्थितिमा फसेका सैनिकलाई सुरक्षित निकाल्न सहकर्मीहरूले गरेको प्रयासलाई पनि उजागर गरेको छ।