सामाजिक सञ्जालको दुरुपयोग विरुद्ध सचेतनामूलक नाटक मञ्चन

मनोरञ्जन समाचार

काठमाडौं । पछिल्लो समय डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको गलत प्रयोगका कारण पारिवारिक सम्बन्धमा आउने दरार र व्यक्तिगत सुरक्षामा उत्पन्न हुने जोखिमबारे जनचेतना फैलाउने उद्देश्यका साथ राजधानीमा एक विशेष नाटक मञ्चन गरिएको छ। नेपाल मातृ गृह र नेपाल नाट्यशालाको संयुक्त प्रस्तुतिमा मञ्चन गरिएको उक्त नाटकले अनलाइनमा चिनजान भएका अपरिचित व्यक्तिहरूसँग सतर्क रहन र आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नुपर्ने गम्भीर सन्देश प्रवाह गरेको छ।

सौभाग्य सिंह (शोभा) राईको लेखन तथा निर्देशन र निर्मल साउदको कला निर्देशनमा तयार पारिएको यस नाटकले सामाजिक सञ्जालको बढ्दो प्रभाव र यसका नकारात्मक पक्षहरूबारे समुदायलाई सुसूचित गर्ने लक्ष्य राखेको छ। नाटकमा प्रविधिको असावधानीपूर्वक प्रयोगले कसरी मानिसलाई जोखिममा पार्न सक्छ भन्ने पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा उपस्थित अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता र ध्यान आकर्षित भएको आयोजकले जनाएका छन्।

नाटकमा कलाकारहरू निर्मल साउद, कविता खड्का, सोनी कडेल, श्रद्धा, अजय लामा, सदिक्षा बसेल, रोशीका मगर, लिजा मगर, अजय घलान, विकास लामा, सुदिप, सुष्मा बमजन तामाङ, महेन्द्र थापा र अन्जु बराल लगायतको प्रभावशाली अभिनय रहेको थियो। कलाकारहरूले आफ्नो अभिनयमार्फत डिजिटल जगतका अदृश्य खतराहरूलाई मञ्चमा उतारेका थिए।

यस्ता जनचेतनामूलक कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास आयोजकको छ। सामाजिक सञ्जालको सही प्रयोगका बारेमा समुदायलाई अझ बढी सचेत गराउन आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने संयोजकले जानकारी दिनुभएको छ।

ममता खड्का