नार्कले अझै स्पष्ट मार्गचित्र बनाउन नसकेको मन्त्री गीता चौधरीको टिप्पणी

राजनीति

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हालसम्म स्पष्ट मार्गचित्र तयार गर्न नसकेको टिप्पणी गरेकी छन्।

नार्कका नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मन्त्रालयले परिषद्लाई उच्च प्राथमिकतामा राख्दै आए पनि अपेक्षाअनुसार स्पष्ट कार्यदिशा तय गर्न नसकेको बताइन्।

उनले विगत केही वर्षदेखि नार्क आन्तरिक जटिलता र संरचनागत समस्याबाट प्रभावित भएको उल्लेख गर्दै अब कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा जिम्मेवारी दिइने स्पष्ट पारिन्।

मन्त्री चौधरीले वरिष्ठताको आधारमा मात्र नेतृत्व चयन गर्ने पुरानो अभ्यास अन्त्य हुने बताउँदै इमानदार, मेहनती र नतिजामुखी वैज्ञानिकले नेतृत्व गर्ने अवसर पाउने धारणा व्यक्त गरिन्।

साथै, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग सहकार्यलाई अघि बढाइने र आधुनिक प्रविधि तथा अनुसन्धानमार्फत नेपालको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा पनि उनले व्यक्त गरिन्।