आफू र परिवारमाथि कानुनी छानबिन गर्न गंगा दाहालको चुनौती, ‘गलत पुष्टि भए कारबाही भोग्न तयार छौँ’

राजनीति

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवारमाथि लागेका आरोपबारे राज्यका सम्बन्धित निकायले कानुनी छानबिन गर्न चुनौती दिएकी छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले राजनीतिक प्रतिशोधका कारण आफूहरूविरुद्ध निराधार आरोप तथा अफवाह फैलाइएको दाबी गरेकी हुन्।

उनले आफू र आफ्नो परिवारमाथि विगतमा दुबईमा ४० अर्ब रुपैयाँ रहेको, नेपालका ठूला घरजग्गा तथा विभिन्न व्यावसायिक प्रतिष्ठानमा स्वामित्व रहेकोजस्ता आरोप लाग्दै आएको उल्लेख गरेकी छन्। ती आरोप पुष्टि हुन नसकेपछि अहिले ५० करोड रुपैयाँको हावादारी हल्ला चलाइएको उनको दाबी छ।

दाहालले आफू र आफ्नो परिवारमाथि लागेका आरोप पुष्टि गर्न सार्वजनिक रूपमा चुनौती दिँदै संविधान र कानुनबमोजिम हुने जुनसुकै अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार रहेको बताएकी छन्।

उनले आफूहरूबाट कुनै आर्थिक अनियमितता वा पदको दुरुपयोग नभएको दाबी गर्दै गलत गतिविधि पुष्टि भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको स्पष्ट पारेकी छन्।

‘हामीले हाम्रो सम्पत्ति विवरण सरकारसमक्ष केही समयअघि नै बुझाइसकेका छौँ। सरकारले गर्ने जुनसुकै अनुसन्धानमा हाम्रो सहयोग रहनेछ। गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौँ। तर बिनाकारण र बिना गल्ती लगाइने आरोप स्वीकार्य छैन,’ उनले भनेकी छन्।

दाहालले आफूले बुवालाई छोरीको नाताले सहयोग गर्नु नै अपराध हो कि भन्दै प्रश्नसमेत गरेकी छन्। साथै, आफूहरूविरुद्ध बारम्बार यस्ता आरोप किन र कुन उद्देश्यले फैलाइन्छन् भन्नेबारे सरकारले गम्भीर ध्यान दिनुपर्ने माग गरेकी छन्।

उनले आफू र आफ्नो परिवारमाथि लागेका सम्पूर्ण आरोप अस्वीकार गर्दै सामाजिक सञ्जालमा फैलाइने भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेकी छन्।