भोटेकोशी बाढीको क्षति यथार्थपरक मूल्याङ्कन गर्न निर्देशन

राजनीति

काठमाडौँ, भदौ २४ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट भएको क्षति तथा पुनर्निर्माणका आवश्यकताको मूल्याङ्कन यथार्थपरक र तथ्यमा आधारित बनाउन निर्देशन दिनुभएको छ।

मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोग र विश्व बैङ्कका प्रतिनिधिसँगको छलफलमा उहाँले आरडिएनए र GRADE का प्रारम्भिक विवरणलाई प्रमाणीकरण गरी एउटै विश्वसनीय राष्ट्रिय प्रतिवेदन बनाउन आग्रह गर्नुभयो।

क्षति मूल्याङ्कनमा सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्तरक्षेत्रीय गरी चार क्षेत्र समेटिएका छन्। यसअन्तर्गत घर तथा सार्वजनिक संरचना, शिक्षा–स्वास्थ्य, कृषि, जलविद्युत्, सडक–पुल, दूरसञ्चार, सिँचाइ तथा बाढीपछि थुप्रिएको भग्नावशेषलगायतको क्षति अध्ययन भइरहेको छ।

सरकारले उक्त प्रतिवेदनका आधारमा राहत, पुनःस्थापना, पुनर्निर्माण तथा आवश्यक लगानी जुटाउने तयारी गरेको छ।